Home / Nepal / News / गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि शुक्लाफाँटाका बासिन्दा चिन्तित

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि शुक्लाफाँटाका बासिन्दा चिन्तित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरमा चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि त्यहाका बासिन्दा निकै चिन्तित भएका छन्।

गाउँ नजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। बाख्रा, बंगुर, गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताए। उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बंगुर र बाख्रा खाएको छ।

“गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन,” उनले भने, “राति कुन बेला आउँछ, पत्तो लाग्दैन। सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ ।” गए राति मात्रै ३५ हजार रुपैयाँ हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए। “चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ,” उनले भने।

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँड्डुलसमेत बन्द गरेका छन्। सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन्। सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *