Home / Nepal / कोरोनाभाइरस विरुद्धको फाइजर खोप बेलायतमा सर्वत्र प्रयोगका लागि स्वीकृति दिने

कोरोनाभाइरस विरुद्धको फाइजर खोप बेलायतमा सर्वत्र प्रयोगका लागि स्वीकृति दिने

बीबीसी : कोरोनाभाइरस विरुद्धको अमेरिकी खोप फाइजरलाई सर्वत्र प्रयोगका लागि स्वीकृति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ ।  बेलायती निरीक्षक, एमएचआरएकाअनुसार कोभिड–१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी भनिएको सो खोप सर्वसाधारणहरुमा प्रयोगका लागि पूर्णरुपमा सुरक्षित छ । 
त्यसैले केही दिनमै प्राथमिक समूहमा खोप लगाउन सुरु गर्न सकिने बताइएको छ ।

बेलायतले यसअघि नै यसको चारकरोड डोज माग गरेको थियो जसको दुईवटा डोज दुईकरोड मानिसका लागि पर्याप्त हुनेछ । 

यसमध्ये पहिलो एककरोड डोज छिटै उपलब्ध हुने बताइएको छ । यो खोप ‘कन्सेप्ट’ बाट वास्तविकतामा यति छोटो समयमा निर्माण गरिएको पहिलो खोप हुनेछ किनकि यस किसिमको काममा सामान्यतः एक दशकसम्म लाग्ने विज्ञहरु बताउँछन् । एमआरएनए प्रविधि मान्छेमा प्रयोग गरिने यो विश्वकै पहिलो खोप हुनेछ । 

तर खोप लगाउने काम सुरु भए पनि मानिसहरुलाई अझै मास्क लगाउने र सामाजिक दुरी जस्ता सुरक्षाका उपायहरु अपनाइरहन स्वास्थ्यविद्हरुको सुझाव छ ।  बेलायतले अर्को हप्ता या त्योभन्दा छिट्टै खोपको पहिलो स्टक प्राप्त गर्नेछ र ५० वर्षभन्दा माथिको उमेरकालाई अनि स्वास्थ्य समस्या भएकाहरुलाई खोप लगाउन सुरु गर्नेछ । 

त्यसपछि अझ धेरै स्टक २०२१ मा उपलब्ध हुने बताइएको छ । यसमा २१ दिनको अन्तरमा दुईवटा खोप लगाउनुपर्ने हुन्छ ।  फाइजरबाहेक मोडेर्ना पनि छिट्टै स्वीकृत हुने अपेक्षा गरिएको छ जसमा पनि एमआरएनए प्रविधि प्रयोग गरिएको छ ।  बेलायतले यसको पनि ७० लाख डोज पहिले नै अर्डर गरिसकेको छ । त्यस्तै अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपको पनि १० करोड डोज बेलायतले मगाइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *