काठमाडौं : नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।
अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो। उनी विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका थिए।
उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए।
वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्।