Home / Nepal / News / भोलिदेखि एउटा बैंकको एटीएम अर्कोबाट चलाउदा शुल्क लाग्ने

भोलिदेखि एउटा बैंकको एटीएम अर्कोबाट चलाउदा शुल्क लाग्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले साउन १ गते (भोलि) बाट विद्युतीय कारोबार गरेको शुल्क लिने भएका छन् ।

यसअघि नेपाल बैंकर्स संघ डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा अर्को सूचना जारी नहुँदासम्म विद्युतीय कारोबार र अन्तर बैंक एटीएम सेवामा कुनै शुल्क नलाग्ने बताएका थिए । 

तर आज (बुधबार) नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा सूचना जारी गर्दै विद्युतीय कारोबार गर्दा शुल्क लिने अथवा नलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने बताएका छन् । 

“कोभिड–१९ को प्रभाव न्यूनीकरण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै बैंक तथा वित्तीय संस्थाहरूले २०७६ चैत ७ देखि विद्युतीय कारोबारहरू निःशुल्क प्रदान गर्दै आएको, नगद झिक्न अन्तर–बैंक एटीएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था भएको थियो, तर हाल प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू खुला रहेको तथा बन्दाबन्दीसमेत खुकुलो भई आवत–जावत खुकुलो भइसकेको अवस्थामा मिति २०७७ साउन १ गते भने शुल्क लिने÷नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरू आफैंले गर्नेछन्,” तीनवटै संघको संयुक्त सूचनामा भनिएको छ । 

यस्तै सोही मितिबाट नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस, आईपीए र इलेक्ट्रोनिक चेक क्लियरिङ सेवामा समेत शुल्क नलाग्ने व्यवस्था रहेकामा साउन १ बाट शुल्क लिने अथवा नलिने नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने सूचनामा उल्लेख छ ।

यस विषयमा थप जानकारीका लागि आफ्नो सम्बन्धित शाखामा सम्पर्क गर्नसमेत सूचनामार्फत आग्रह गरिएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *