Home / Society / आज देखि जोरविजोर प्रणाली, एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने

आज देखि जोरविजोर प्रणाली, एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आज देखि जोरविजोर प्रणाली लागु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आज शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ ।

उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार आज देखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ ।

उनले चार पांग्रे सवारी साधनमा चालकसहित तीनजना मानिस मात्र र दुई पांग्रे सवारीसाधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक एकजना मात्र राखी सञ्‍चालन गर्न पाइने बताए ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ ।


अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू राति ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् ।

यसअघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *