एजेन्सी : कोभिड–१९ विरुद्धको खोप प्रयोगमा ल्याउने मुलुकको संख्या मंगलबारसम्म २१ पुगेको छ। विकसित मुलुकहरुसँगै खोपको ट्रायल भएका मुलुकहरुमा समेत खोप वितरण सुरु गरिएको छ।
डिसेम्बर अन्तिम सातासम्म अमेरिकाले उत्पादन गरेको फाइजर र रुसले उत्पादन गरेको स्पुतनिक भी र चीनको सिनोफार्म खोप प्रयोगमा आएका छन्। अन्य १३ ओटा परीक्षणको अन्तिम चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यी हुन् खोप दिइरहेका मुलुकहरु
बेलायतः बेलायतमा १० डिसेम्बरदेखि फाइजर बायोएनटेक खोप दिन सुरु गरिएको थियो। योसँगै बेलायत कोरोनाविरुद्धको खोप दिने पहिलो मुलुक पनि बनेको थियो। बेलायतमा विभिन्न १४ सहरमा एकैपटक खोप अभियान सुरु गरिएको थियो। त्यहाँको सरकारले पहिलो चरणमा ३० लाख डोज खोप भण्डारण गरेको थियो।
यूएईः संयुक्त अरब इमिरेट्स (युएई)मा १४ डिसेम्बरबाट खोप दिन सुरु गरिएको थियो । चीनको सिनोफार्म खोप यूएईको अबुधाबी र बहराइनमा ट्रायल गरिएको थियो । यूएईले सिनोफार्मलाई मान्यता दिएर आफ्ना नागरिकलाई वितरण कार्य सुरु गरेको हो। योसँगै यूएईले फाइजर र सिनोफार्म दुवै खोप वितरण गर्दै आएको छ।
बहराइनः बहराइनले १३ डिसेम्बरबाट सिनोफार्म खोपलाई मान्यता दिएको थियो। त्यसयता बहराइनका नागरिकलाई सिनोफार्म र फाइजर खोप दिइँदै आएको छ।
अमेरिकाः अमेरिकामा १४ डिसेम्बरमा नै फाइजर खोप दिन सुरु गरिएको छ। अमेरिकाका ५० ओटा राज्यमा एकैपटक खोप लन्च गरिएको थियो। अमेरिकामा मास क्याम्पियनअन्तर्गत् पहिलो चरणमा तीन लाख मानिसलाई खोप दिइएको थियो।
साउदी अरबः साउदी अरबमा १७ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो। खोपका लागि दैनिक एक लाख ५० हजारको नाम दर्ता भएको थियो।
इजरायलः इजरायलले २३ डिसेम्बरबाट फाइजर खोप दिन थाल्यो। इजरायालमा पहिलो चरणमा तीन लाख १३ हजार डोज खोप दिइएको थियो। डिसेम्बर अन्तिमसम्म ३८ लाख नागरिकलाई खोप दिने इजरायल सरकारको योजना छ।
कतारः कतारमा २१ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो। कतारमा खोप सुरु गर्दासम्म एक लाख ४१ हजार ८५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
मेक्सिकोः मेक्सिकोमा २४ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो। मेक्सिको विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत् पनि सूचीकृत छ। यसअघि नै मेक्सिकोले आफ्ना नागरिकका लागि फाइजर खोप सुरु गरेको हो।
कुवेतः कुवेतमा २४ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको छ। कुवेतमा पहिलो चरणमा एक लाख ५० हजार डोज आयात गरिएको थियो।
ओमनः ओमनमा २७ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो। ओमन सरकारले आफ्ना नागरिकलाई प्राथमिक तहबाट नै खोप वितरण सुरु गरेको छ।
बेल्जियमः बेल्जियममा पनि २७ डिसेम्बरबाट फइजरको खोप दिन सुरु गरिएको थियो। जनवरीको पहिलो साताभित्र १० हजार नागरिकलाई खोप दिने बेल्जियम सरकारको योजना रहेको छ।
आइल्यान्डः आइल्यान्डमा २८ डिसेम्बरबाट फाइजर खोप दिन सुरु गरिएको छ। त्यहाँ पहिलो चरणमा १० हजार डोज खोप आयात गरिएको थियो।
क्यानडाः क्यानडामा कोरोनाविरुद्धको मोर्डना खोपको पहिलो ट्रायल १४ डिसेम्बरमा भएको थियो। त्यहाँ अहिले फाइजरको खोप वितरण गरिँदै छ। फाइजर र मोर्डना गरी जनवरीको पहिलो सातासम्म १२ लाख डोज खोप दिने क्यानडा सरकारको योजना रहेको छ।
चिलीः चिलीमा भारत र अष्ट्रेलियाको संयुक्त शेरम कम्पनीको अष्ट्राजेनिका खोप ट्रायल भएको थियो। चिलीमा यही खोप २४ डिसेम्बरबाट दिन सुरु गरिएको छ।
रुसः रुसले आफ्ना नागरिकलाई रुसी उत्पादन स्पुतानिक भी खोप दिँदै आएको छ। पहिलो चरणमा १३ लाख जनतालाई दिने लक्ष्य राखेको रुसले सन् २०२० को अन्त्यसमम २० लाख डोज उत्पादन गर्ने लक्ष्य लिएको छ।
स्वीट्जरल्यान्डः स्वीट्जरल्यान्डले २३ डिसेम्बरदेखि फाइजरको खोप दिन सुरु गरेको छ। १० लाख ७० हजार डोजबाट सुरु गरेको स्वीट्जरल्यान्डले पहिलो चरणमा नै ३० लाख डोज खोप आयात गरेको थियो।
कोस्टारिकाः कोस्टारिकामा २४ डिसेम्बरदेखि खोप दिन सुरु गरिएको छ। त्यहाँ पहिलो चरणमा २१ हजार डोज फाइजर खोप आयात गरिएको थियो।
हंगेरीः हंगेरीमा २६ डिसेम्बरदेखि फाइजरको खोप दिन सुरु गरिएको थियो। हंगेरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममा समेत समेटिएको छ।
क्रोएसियाः क्रोएसियाले पनि आफ्ना नागरिकलाई फाइजरको खोप दिइरहेको छ। त्यहाँ २६ डिसेम्बरबाट नै खोप दिन सुरु गरिएको हो।
स्लोभाकियाः स्लोभाकियामा पनि २६ डिसेम्बरदेखि फाइजरको खोप दिन सुरु गरिएको थियो। त्यहाँ पहिलो चरणमा २० लाख ४४ हजार डोज दिइँदै छ। स्लोभाकिया सरकाले आफ्ना नागरिकलाई निःशुल्क खोप वितरण गर्दै छ।
जर्मनीः जर्मनीमा २६ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको छ। त्यहाँ १६ राज्यमा एकैपटक खोप वितरण सुरु गरिएको थियो। जर्मन सरकारले पहिलो चरणमा नै ६० लाख नागरिकलाई पुग्नेगरी खोप आयात गरेको थियो।






