काठमाडौं : वाग्मती प्रदेशमा नवगठित स्वास्थ्य मन्त्रालयमा नेतृत्वको दरबन्दीलाई लिएर यतिखेर वाग्मतीका स्वास्थ्यकर्मी विरोधमा उत्रिएका छन्।
मन्त्रालयमा प्रशासन संघीय सेवातर्फको कर्मचारी स्वास्थ्य सचिव रहनेगरी २५ जनाको दरबन्दी प्रस्ताव गरिएपछि स्वास्थ्यकर्मी आक्रोशित बनेका हुन्।
स्वास्थ्य सचिव पदमा प्राविधिक तर्फकै कर्मचारी हुनुपर्ने भन्दै नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ लगायतका विभिन्न निकायले प्रेस विज्ञप्ति जारी गरेर उक्त प्रस्तावमाथि असन्तुष्टि जनाएका छन्। उनीहरूले मन्त्रालय प्राविधिकतर्फकै कर्मचारीको नेतृत्वमा रहनुपर्ने माग राखेका छन्।
तर, यही मागलाई लिएर कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अवरुद्ध नगरिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताएका छन्। “अहिले खोप उपलब्ध नभएर खोप कार्यक्रम रोकिएको हो। सचिव नियुक्तिको विषयलाई लिएर हामी जनस्वास्थ्यमा लापरबाही गर्दैनौँ। खोप उपलब्ध हुनासाथ कार्यक्रम सुचारु गरिनेछ,” खड्काले भने।






