काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनका लागि भन्दै संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेस सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल र संजयकुमार गौतमले बुधबार प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
‘नेपालको भूभाग चीनको अतिक्रमणमा परेको हुनाले ती भूभागलाई कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभागहरू र गाउँसमेतको अवस्थाको सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्नका लागि यो संकल्प प्रस्ताव पेस गरेका छौं,’ सांसदत्रयको संकल्प प्रस्तावमा लेखिएको छ ।
गोरखा, सोलुखुम्बु, दार्चुला, दोलखा, हुम्लालगायतका जिल्लाका केही भूमि चीनको अतिक्रमणमा परेको संकल्प प्रस्तावमा लेखिएको छ ।
त्यस्तै, नेपाल र चीनको सीमा छुट्याउने स्तम्भ पनि हराएको उल्लेख गरिएको छ ।






