काठमाडौं : ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको बताएका छन्।
देशभित्र र बाहिर रहेका नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैय्याको व्यवस्था गरिएको बताए।
कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ।
संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानुनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले बताएका छन्।
नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० वर्ष पूरा भइसकेको छ। सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं राष्ट्रिय बालअधिकार परिषदमार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।






