काठमाडैं : बैंकिङ तथा किर्ते लिखत बनाई झन्डै तीन करोड रुपैयाँ कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट काठमाडौं ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइ कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरी उपरीक्षक श्यामकुमार महत्तोका अनुसार अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा झिकाइएको छ।
ललितपुर जिल्ला अदालतले वि.सं. २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत किर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर)लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुंगानाको संलग्नता रहेको खुल्न आएपश्चात् ०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजी सुरु गरिएको थियो। त्यस बेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न ०७५ पुस १७ गते ‘डिफ्युजन’ जारी भएको र उक्त डिफ्युजन ०७८ वैशाख ३१ गते ‘रेड कर्नर नोटिस’मा रूपान्तरण भएको थियो । खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी ०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको नेसनल सेन्ट्रल ब्युरोसँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ। उनीसहित १२ जनाले काठमाडौं र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ रकम लिएका थिए । बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो ।
प्रतिवादीले बैंकलाई हानि–नोक्सानी पुर्याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कार्बाही गर्न उक्त ब्युरोमा ०७५ मंसिर २१ गते जाहेरी परेको थियो । अनुसन्धानका क्रममा ढुंगानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात किर्ते बनाई पेस गरेको खुल्न आएको थियो ।
उनीहरूविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते कसुर शीर्षकमा काठमाडौं जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुंगानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ।






