लेटाङ । तीन दिन देखिको अविरल वर्षाका कारण मोरङको लेटाङ सहित विभिन्न स्थानका खोलामा आएको बाढी, डुबान तथा पहिरोले १८ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार लेटाङ, कानेपोखरी, उर्लाबारी, मिक्लाजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु¥याएको हो ।

चिसाङ खोलामा आएको बाढीको कटानले लेटाङको वार्ड नं. २ को फडानी, खैरेनी तथा धोबी लगायतका बस्तीहरु जोखिममा परेको छ भने वार्ड नं. ३ को किर्तिमान तथा कमलपुर उच्च जोखिममा परेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिए ।

जोखिम क्षेत्रमा क्षति न्युनिकरणको निम्ती सशस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरी अहिले खटिएको मेयर राईले जानकारी दिए ।
त्यस्तै चिसाङकै बाढीका कारण कानेपोखरी–५ को दुखीटोलका सात घर जोखिममा परेका छन् ।
खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२ जनालाई स्थानीय भन्सावारी प्राविमा सार्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको हो ।
प्रहरी चौकी रमाइलोको टोली घटनास्थलमा परिचालन गरी उनीहरूलाई तत्काल स्थानान्तरण गर्ने भएको छ । खोलाले हालसम्म दुई बिघा क्षेत्रफलको जमिन कटान गरिसकेको छ ।
क्षति पुर्याएको स्थानमा अस्थायी प्रहरी चौकी मङ्गलबारेको टोली परिचालन गरी तथ्याङ्क सङ्कलन तथा अवस्था अध्ययन भइरहेको जनाइएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–२ कुवापनीमा रनकुमार राईको काठ र टिनको छाना भएको दई तले दुईवटा घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा छ लाख रुपियाँ क्षति पुगेको हो । पहिरोले घर पुरिँदा घरमा बस्नसक्ने अवस्था नभएपछि परिवारको स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।
त्यस्तै, विराटनगर महानगरपालिका–६ मा केशलिया खोलाको बाढीका कारण दश घर डुबानमा परेका छन् । खोलामा बाढीको सतह बढेपछि पानी बस्तीमा पस्दा सिम्राही टोलका स्थानीयलाई बखरी प्रा.वि.मा सार्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
तस्विर : रविन श्रेष्ठ






