राँझा : जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको छ।
राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको हो। पक्राउ परेका थारू वि.सं. २०७४ को निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’बाट प्रदेशसभा सदस्यको उमेद्वार बनेका थिए।
इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुईथान, छोरा ओमप्रकाश थारूको घरबाट एकथान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एकथान, जरायोको सिङ तीनथान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चारथान र दुम्सीको प्वाँख फेला परेको हो।
फरार रहेका लालबहादुर र ओमप्रकाशको खोजी जारी रहेको प्रहरी सहायक निरीक्षक थारूले जानकारी दिए । रासस






