Home / Nepal / News / शिक्षक मृत्यु प्रकरण – एक हप्तादेखि शव अस्पतालमै

शिक्षक मृत्यु प्रकरण – एक हप्तादेखि शव अस्पतालमै

डोटी : डोटीको जोरायल गाउँपालिका–२, बुडर बजारनजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन्।

बैतडीको पाटन नगरपालिका–१, सकार पलेटा निवासी भट्टराईले भूमिराज केदार आधारभूत विद्यालय बस्यानी, डोटीमा अध्यापन गराउँदै आएका थिए। घर–परिवार तथा आफन्तले घटना शंकास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमुना काठमाडौं पठाइएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशंकामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेको छैनन्।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारीको भनाइ छ।

मृतकका दाइ उद्धव भट्टराईले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव नबुझ्ने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *