Home / Nepal / News / भीटीएमको अभाव हुँदा स्वाब सङ्कलन रोकियो

भीटीएमको अभाव हुँदा स्वाब सङ्कलन रोकियो

हेटौँडा । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि प्रयास भइरहँदा यहाँ कोरोना परीक्षणका लागि आवश्यक सामग्रीको अभावमा स्वाब सङ्कलन प्रभावित भएको छ ।

प्रदेश सरकारले भने भीटीएम खरिद प्रक्रिया सुरु गरेकाले अझै करिब १० दिन अभाव हुने जनाएको छ ।


हेटौँडा उपमहानगरपालिका ४ स्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको आइसोलेसन कक्षमा स्वाब सङ्कलन गर्ने भीटीएमको अभाव भएको हो ।

भीटीएमकै अभावमा अत्यावश्यक स्वास्थ्य परीक्षण गर्नुपर्ने बाहेकको कोरोना परीक्षण गराउनु पर्दा स्वाब सङ्कलन रोकिएको छ ।


आइसोलेसन कक्षमा स्वाब सङ्कलन गरेर राखिने भीटीएम (एक प्रकारको भाँडो ) सकिएपछि स्वाब सङ्कलन अवरुद्ध भएको आइसोलेसन कक्षका इन्चार्ज भोला चौलागाईंले जानकारी दिनुभयो ।


उहाँले भीटीएम सकिएकाले कोराना परीक्षण गराउन आउने शङ्कास्पद बिरामीलाई फर्काउँदै आएका छौँ भन्नुभयो ।

अत्यावश्यक स्वास्थ्य जाँच गराउनुपर्ने र शल्यक्रिया गर्नुपर्नेका लागि केही भीटीएम राखिएको थियो उहाँले भन्नुभयो, त्यो पनि बिहीबारबाट सकिएको छ ।


कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार मापदण्डअनुसार देशभित्र उत्पादन नहुने र परीक्षणका क्रममा आयात गर्नुपर्ने सामग्री सङ्घीय सरकारले खरिद गर्नुपर्ने व्यवस्था छ ।


मकवानपुरका केही स्थानीय तहले आफ्ना पालिकाका नागरिकको कोरोना परीक्षण गर्न भीटीएम खरिद गरी हेटौँडास्थित आइसोलेसन कक्षमा जिम्मा लगाउँदै आएका छन् ।


१० स्थानीय तह रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका लगायतका स्थानीय तहले भने भीटीएम खरिदमा उदासीनता देखाउँदै आएका छन् ।

बकैया गाउँपालिकाले २५ थान, थाहा नगरपालिकाले सय र बाग्मती गाउँपालिकाले १० भीटीएम आफ्नो गाउँपालिकाका नागरिकको सहजताका लागि खरिद गरेका छन् ।


बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड(१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईंले भीटीएम यसअघि राष्ट्रिय प्रयोगशालाले उपलब्ध गराउँदै आएको बताउनुभयो ।

उहाँले स्वाब सङ्कलन गर्न भीटीएम अभाव भएपछि प्रदेश सरकारले खरिद प्रक्रिया सुरु गरेको बताउँदै अहिले स्वाब परीक्षण गर्न आरटी(पीसीआर किट उपलब्ध रहेको बताउनुभयो ।


यसअघि पनि पटक-पटक आइसोलेसन कक्षमा भीटीएम र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा पीसीआर किट अभावमा स्वाब सङ्कलन र पीसीआर परीक्षण रोकिएको थियो ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *