काठमाडौं : वाग्मती प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आउँदो फागुन ५ गतेसम्मका लागि स्थगित गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन्। प्रचण्ड–नेपाल समूहले प्रदेशसभाको बैठक बोलाउन माग गर्दै प्रदेशसभा सचिवालयमा नाराबाजीसमेत गरेका छन्।
सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसद्हरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नराखी, कुनै कारण नखुलाई संसद् स्थगन गरेको भन्दै तत्काल सच्याउन माग गरेका हुन्।
त्यसलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद् अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गरेको बताइन्। सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोपसमेत सांसद् शाक्यले लगाइन्। उनले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न माग गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र विवाद रहेको छ। त्यसको असर प्रदेशसभामा पनि देखिएको छ।






