मुम्बई : बलिउड अभिनेत्री सन्नी लियोनीसँग केराला प्रहरीले २९ लाखको ठगीको आरोपमा सोधपुछ गरेको छ। केरालाको राजधानी तिरुअन्तपुरमको एउटा प्राइभेट रिसोर्टमा लगेर केराला प्रहरीले सन्नीसँग लामो सोधपुछ गरेको हो।
सन्नीविरुद्ध कोच्चिका एकजना इभेन्ट म्यानेजर शियसले ठगीको आरोप लगाएका हुन्। उनका अनुसार यो सन् २०१६ को कुरा हो, सन्नीका म्यानेजरले पाँचवटा इभेन्टमा उपस्थित हुने भन्दै २९ लाख रुपैयाँ लिएका थिए। तर सन्नी यसमध्ये कुनै पनि इभेन्टमा उपस्थित भइनन्।
सन्नी लियोनीले प्रहरीलाई दिएको बयानमा आफूले पैसा लिएको स्वीकारेकी छिन्। इभेन्ट म्यानेजरले नै तोकेको समयमा कार्यक्रम गर्न नसकेका कारण उनी इभेन्टमा अनुपस्थित भएको पनि सन्नीले उल्लेख गरेकी छिन्। यद्यपि इभेन्ट म्यानेजरलाई धोका दिने उद्देश्य भने नभएको बताएकी छिन्। अब प्रहरीले यस मुद्दामा सन्नीले दिएको बयानका आधारमा छानबिन अगाडि बढाउनेछ।






