Home / Society / आज सूर्यग्रहण, दुईपटक बिहान भएको अनुभव हुने

आज सूर्यग्रहण, दुईपटक बिहान भएको अनुभव हुने

काठमाडौं । आज  सूर्यग्रहण देखिँदै छ । यो ग्रहण वास्तवमा वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने) सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्‍न सकिने वाल्मीकि क्याम्पस ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् ।  

उनका अनुसार अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ ।   

कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्‍न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ ।

नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ ।

काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यको भनाइ छ ।

सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने

सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने चिकित्सकहरुको भनाइ छ । सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि आँखा देख्न नसक्नेसमेत हुन सक्छ ।

त्यसैले सूर्यग्रहणका बेलामा नांगो आँखाले कदापि नहेर्न वैज्ञानिकहरुले सुझाब दिएका छन् । 

ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुँदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यबिम्बको प्रतिबिम्ब बनाई छाया हेर्नु नै हो ।

धार्मिक समुदायका मानिस ग्रहणका बेला दान दक्षिणा गर्दा विशेष फल मिल्ने विश्वास गरी नदी तट वा गंगामा गई ग्रहणको स्‍नान गरी शुद्ध हुने र दान दिने गर्छन् ।

तान्त्रिकहरु ग्रहण लागेका बेला मन्त्र सिद्ध हुने विश्वासका साथ साधना गर्छन् । 

ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरि नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका बेला चिच्याउने गर्छन् भने चीनमा ग्रहण र ड्रयागनसँगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् ।

प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । उनी सूर्यग्रहणका बेलामा आफ्नै सहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ । 

नेपालबाट बिहान १०:५० बाट सुरु भई अपरान्ह २:२३ मा समाप्त हुँदै

पञ्चाङ्ग निर्णायक समितका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज लाग्‍ने सूर्यग्रहण नेपालबाट बिहान १०:५० बाट सुरु भई अपरान्ह २:२३ मा समाप्त हुँदै छ ।

आज १२:३८ मा सूर्यलाई हामीहरुले करिब ८८ प्रतिशत ढाकेको देख्छौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् । आज दुईपटक बिहान भएको पो हो कि भन्ने अनुभव सबैले गर्नेछन् ।
  
धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *