काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले यही असार ७ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।
२०७६ फागुन २७ गते लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमध्ये लघुवित्तले १० हजार ८ सय ९० कित्ता कर्मचारीहरूका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न लागेको हो ।
लघुवित्तले आईपीओ निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।
लघुवित्तको आईपीओलाई इक्रा नेपाल ग्रेड ४ रेटिङ दिएको छ । जसले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।
लघुवित्तको आईपीओमा छिटोमा असार २४ गतेसम्म र उक्त समयमा पर्याप्त आवेदन नपरे साउन ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । कम्पनीले ३२ प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो ।
आईपीओ निष्कासनपछि कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव यसअघि नै पारित गरीसकेको छ ।
लघुवित्तले आईपीओ निष्कासनअगावै तनहुँको आर्थिक सम्ृद्धि लघुवित्तलाई मर्जर गरी राष्ट्रिय स्तरको कार्य क्षेत्र बनाएको थियो ।






