काठमाडौं । बंगलादेशबाट नेपाललाई कोरोनाको उपचारको लागि प्रयोग गरिने रेमडिसिभिर औषधि हस्तान्तरण गरिएको छ । बंगलादेशको बेक्सिम्को फार्मास्युटिकल्स, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग गरेका हुन् ।
बिहिबार संयुक्त रुपमा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलाई ढाकामा उक्त औषधि हस्तान्तरण गरिएको थियो ।
बेक्सिम्को फार्मास्युटिकल्सको नेपालकालागि आधिकारिक बिक्रेता हाम्रो मेडिकन्सर्नका प्रबन्ध निर्देशक शम्भु कार्कीको पहलमा सो कम्पनीले नेपाललाई सहयोग गरेको हो ।
कम्पनीले बंगलादेश सरकारलाईृ समेत निशुल्क सो औषधि सहयोग गरेको थाहा पाएका व्यवसयी कार्कीले नेपाल सरकारलाई समेत सहयोग गर्न आग्रह गरेका थिए ।
सन् २००४ देखि बेक्सिम्कोले नेपालमा विभिन्न औषधि निर्यात गर्दै आएको छ ।
बेक्सिम्कोले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको उपचारका लागि प्रयोग गरिने सो औषधि सहयोग गरेको न्युजडोकोसँगको कुराकानीमा निर्देशक कार्कीले बताउनुभयो ।
सो औषधि आगामी सातासम्म नेपाल आइपुग्ने छ । नेपाल भित्रने बित्तिकै उक्त औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।







