Home / Society / भागरथीको बलात्कारपछि हत्याको अनुसन्धानमा खटिएका असई र जवानको बढुवा

भागरथीको बलात्कारपछि हत्याको अनुसन्धानमा खटिएका असई र जवानको बढुवा

काठमाडौं : बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले असई पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो।

उनीहरु दुवै भागरथी हत्याकाण्डको अनुसन्धानमा खटिएका थिए। एक तह बढुवा भएका थापा अपराध अनुसन्धानमा सफल जुनियर अधिकृत मानिन्छन्।

सुदूरपश्चिम प्रदेश कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार प्रहरीमा विशेष अवस्थामा विशेष अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेका जुनियर अधिकृतको तह बढुवा गरिने गरिन्छ। ‘‘यो विशेष बढुवा हो। उहाँहरुले भागरथी हत्याकाण्डको अनुसन्धानमा अहम् भूमिका खेल्नुभएको थियो। त्यसैले उहाँहरुको नियमित नभई विशेष बढुवा हो,’ उनले भने।

बढुवा भएका दुवैजनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे। यस्तै, अनुसन्धानमा खटिएका अन्य पाँच प्रहरी पनि पुरस्कृत भएका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको खुलेको थियो। प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *