काठमाडौं: प्रशासन र अन्य निकायबाट जारी सबै पास खारेज गर्दै आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । मंगलबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।
सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले न्युज डोकोलाइ बताउनु भएको छ्।
पराजुलीका अनुसार निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर आदि खोल्न नपाए पनि बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल भने खोल्न पाइनेछ भने निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ ।दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै सरकारले कोरोना भाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको र पुन दुइ साता थप गरेको थियो।






