काठमाडौं: नेपाल स्काउटले शुक्रबार आयाजना गरेका ‘ बालबालिकासँग प्रधानमन्त्री ‘ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताउनुभएको छ ।
उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभइ इमानदार , विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रूपमा राजनीतिलाई बुझ्न आग्रह गर्नुभयो ।
बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने र राजनीतिलाइ ढाँटछल , बेइमानीका रूपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराउनुभयो ।
प्रम ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरू कोही नजिक आएर नबुझिकन विरोध गर्ने , कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश विरोध गर्ने गरेको बताउनुभयो ।





