प्योङयाङ । विश्व नै कोरोना भाइरस (कोभिड–१९)को महामारीको त्रासमा रहँदा कोरोनाबाट अलग रहेको उत्तर कोरियामा पनि कोरोना संक्रमण देखिएको छ । सबैजसो देशमा कोरोना संक्रमण देखिँदा पनि उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको बताउँदै आएको थियो ।
उत्तर कोरियामा कोरोना भाइरसको एक व्यक्तिमा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको खबर अनुसार दक्षिण कोरियाबाट ५ दिनअघि गएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।
३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरका उनको परीक्षणका क्रममा कोरोना भाइसर संक्रमण भएको महामारीविरुद्ध संस्थाका अधिकारीहरुलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।
सीमाबाट प्रवेश लगायत सबै कुरामा उच्च सतर्ककता अपनाउँदा पनि कोरोना भाइरस मुलुकमा प्रवेश गरेपछि सत्तारुढ पार्टीको आकस्मिक बैठक बसेको छ।
देशभित्र कोरोना संक्रमित देखिएपछि सर्वाेच्च नेता किम जोङ उनले आकस्मिक रुपमा कोरियन वकर्स पार्टीको पोटिल ब्यूरो बैठक डाके ।
केसीएनएका अनुसार कोरियन वकर्स पार्टीका अध्यक्षसमेत रहेका किमको अगुवाइमा शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
बैठमा महामारीविरुद्धको संस्थाका उच्च अधिकारीहरु, मन्त्रिमण्डका सदस्य, विभिन्न प्रान्तका प्रशासन अधिकारीहरु, पार्टीका प्रतिनिधिहरु, संस्थानका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
५ दिन पहिला कासोङ शहर आइपुगेका ती कोरोना संक्रमित व्यक्तिले शहरका धेरै जनासँग भेटघाट र सम्पर्क गरिसकेका थिए । यस सहरलाई पूर्णरुपमा सिल गरिससिकएको बताइएको छ ।
उनको सम्पर्कमा आएकाको खोजी भएइसकेको र ती सबैलाई चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखेको महामारीविरुद्ध संस्थाका अधिकारीलाई उद्धृत गर्दै केसीएनएले खरब दिएको छ ।
महामारीविरुद्धका सबै उपाय अपनाउन किमले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको केसीएनए जनाएको छ ।






