काठमाडौं : नेपालका १० पर्वतारोहीले हिउँद याममा विश्वको दोस्रो अग्लो शिखर किलर समिट वा स्याभेज माउन्टेन भनेर चिनिने केटु हिमालमा आरोहणको कीर्तिमान राखेका छन्।
उनीहरुले स्थानीय समयानुसार शनिबार दिउँसो ४ बजेर ५८ मिनेटमा पाकिस्तानमा रहेको शिखरको सफल आरोहण गरेका हुन्। समुद्र सतहबाट केटुको उचाइ ८ हजार ६११ मिटर छ।
आज इतिहास रच्नेहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा हुन्। आरोहीमध्ये मिङ्मा जीले अक्सिजनबिना आरोहण गरेको बताइएको छ।
यसअघि हिउँदमा आरोहण गर्न सकिएको थिएन। यो इतिहास रच्ने दशैजना नेपाली शेर्पा आरोही हुन्। हिउँदमा आरोहण हुने नसकेको आठ हजारभन्दा अग्लो शिखर केटु मात्र बाँकी थियो।
यो आरोहणलाई आरोहण इतिहासकै सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा साहसिक काम भएको दाबी गरिएको छ। आरोहण सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ।






