कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मङ्गलबार राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन्।
दिलबहादुरले आफ्ना जनताका लागि खानाको समस्या भएको गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे। ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे।
उनले गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनले बताए। “मेरा जनता भोकले मर्न आँटे। म पनि भोकै यहाँ आएको छु”, उनले भने, “पेटभन्दा ठूलो केही छैन। सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो।”
आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरे। उनले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए।
सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक रु दुई हजार भत्ता थपेको छ। मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गरे।
पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ।






