बैतडी : नवजात शिशुको हत्या गरेको आरोप एक आमालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने डिलाशैनी गाउँपालिकामा वडा नम्बर–७, ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
घरनजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ । माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ।
माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ। माधवीका १३ वर्षीय एक छोरा छन् ।






