Home / Nepal / News / सुख्खा र डुबान दुवैमा राम्रो हुने जातहरु छनौट गरी धान रोपौँ : भोलामान सिँह बस्न्यात

सुख्खा र डुबान दुवैमा राम्रो हुने जातहरु छनौट गरी धान रोपौँ : भोलामान सिँह बस्न्यात


धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ ।

नेपालमा जनसंख्या घट्नेवाला छैन, खेतीगर्ने जमिन बढ्नेवाला छैन, माटोको उर्वराशक्ति खस्कंदो अवस्थामा छ त्यसैले ज्ञान, विज्ञानमा आधारित खेतीगरी प्रति इकाई प्रतिदिनको उत्पादकत्व बढाई बढदो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट खुवाउन परेको, आयआर्जन वृद्धि गर्नु परेको जस्ता चुनौती हामीसामु छन् ।

खाद्यसुरक्षा, खाद्यसम्प्रभुता, पोषणसुरक्षा, जलसुरक्षा, आयआर्जन वृद्धि र दीगोपनातर्फ बिशेष गरी ध्यानदिनु परेको यो समयमा वरीष्ठ धानबाली विज्ञ भोलामान सिँह बस्न्यातले धानकै महत्व बढी छ भन्छन् ।

चामल अर्थात धान विश्वका जनसङख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको मुख्य खाद्य हो । यस्तो महत्वपुर्ण बाली धानको महिमा, उत्पादन र उत्पादकत्व वृद्धिका बारेमा उनै बस्न्यातसँग न्युजडोकोले गरेको कुराकानी

धानको बीउ छनौट गर्न नजान्दा पनि उत्पादन घट्ने कुरा गरिहनुहुन्छ खासमा कसरी ?


हाम्रो कृषि प्रणाली पारम्परिक तरिकाको छ । यसमा नयाँ नयाँ प्रविधिको प्रयोग आवश्यक छ । बीउ छान्ने भनेको साधारण कुरा हो । मैले सैद्धान्तिक भन्दा पनि लामो समय प्रयोग नै गरेर सफल भएको अनुभव छ । किसान दाजुभाइ दिदी बहिनीले बुझ्ने भाषामा भन्दा एउटा भाँडामा पानी हाल्ने । कुखुराको ताजा अण्डा पानीमा हाल्दिनुस् ।

त्यो अण्डा पिँधमा बस्छ । अब त्यो अण्डालाई माथि पानीको सतहमा ल्याउन पानीमा नुन हाल्दै घोल्दै जानुस् जबसम्म अण्डा माथि आइपुग्दैन । त्यो पानी बीउ छान्न तयार भयो । विकल्पमा पाँच लिटर पानीमा एक किलो नुन हाल्नु भयो भने पनि हुन्छ ।

त्यसपछि विस्तारै धानको बीउ त्यो पानीमा हाल्दै जानुस् । नराम्रो बीउ तैरिन्छ । राम्रो बीउ थिग्रन्छ । राम्रो बीउ तुरुन्तै निकालेर दुईतीन पानी सफासँग धोइदिनुभयो भने नुनको असर रहँदैन । अब असर बीऊ छर्न तयार भयो ।

धानमा लाग्ने कडा रोग भनेको डढुवा हो । यो बीउजन्य भएकाले बीउबाटै सर्छ । त्यसरी छानेपछि रोगी बीउ हल्काफुल्का हुने हुनाले तैरिएर बस्छ । हुष्टपुष्ट बीउ डुब्छ । बीउ राम्रो भए बेर्ना राम्रो हुन्छ । बेर्ना राम्रो भए उत्पादन राम्रो हुन्छ ।

पहाडी र सुख्खा जमीनमा पनि धान खेती लगाउने कुनै प्रविधि छ कि छैन ?


त्यसका लागि घैया जस्तो कम पानी चाहिने जातका धान लगाउन सकिन्छ । जलवायु परिवर्तनले गर्दा कहिले खडेरी पर्ने त कहिले अतिवृष्टिको समस्या देखिरहेको छ । सुख्खा क्षेत्र छ भने जातहरु सिफारिष गरिएको छ ।

सुख्खा र डुबान दुवैमा राम्रो हुने धानका जातहरु छन् । डुबान क्षेत्रमा मात्रै मौलाउने धानका जातहरु पनि छ । वैज्ञानिकहरुले सुख्खा क्षेत्रका लागि बेर्ना रोप्ने भन्दापनि सिधै बीउ छरिदिने उपाय पनि सुझाएका छन् । सिद्धान्ततः एक किलो धान उत्पादनका लागि ३ देखि ५ हजार लिटर पानी आवश्यक पर्दछ ।

अब त्यो भनेर धान खेती नगर्नी त भएन । संसारभर अहिले वैज्ञानिकहरु कम पानीमा कसरी धान उत्पादन गर्ने भन्ने खोजी गर्दैछन् । एउटा भनेको सोझै बीउ छर्दिने हो । डाइरेक्ट सिडिङ भनिन्छ त्यसलाई ।

अर्को एसआरआई भन्ने प्रविधि छ, त्यसलाई पनि कम पानी लाग्छ । तरकारी खेतीमा अचेल थोपा सिचाईं प्रयोगमा आइराख्या छ त्यसलाई धानबालीमा पनि परिक्षण गरिराखिएको छ ।

नेपालमा धान उत्पादनको क्षमता कति हो ?

नेपालको औसत उत्पादन भने ३.८ प्रतिहेक्टर रहेको छ । चीनमा करिब ७ टनको औसत छ । केहि हाइब्रिड जातका धान त २२ टन सम्म फल्ने पनि रहेछन् । हामीकहाँ पनि उत्पादन दोब्बरसम्म गर्न त त्यति गाह्रो पनि होइन । थोरै बाट माथि लैजान सजिलो हुन्छ विभिन्न प्रविधिहरु प्रयोग गरे ।

जहाँ पहिले नै धेरै उत्पादकत्व छ त्यसमा थप्न भने गाह्रो छ । अर्को तर्फ खाद्य सुरक्षाको प्रश्न पनि छ । परनिर्भर देशका लागि त झन् संकटको विषय हो यो । सन् २००७ मा विश्व खाद्य संकट भएको थियो ।

त्यस बेला भारतले सर्वसाधारणले खाने मोटो चामल ४ वर्ष निर्यात गर्न प्रतिबन्ध गरेको थियो । यदि फेरि त्यस्तो स्थिति आयो र हामी धान उत्पादनमा समेत आत्मनिर्भर हुन सकिएन भने हामीले पैसा भएर पनि किनेर खान पाउने छैनौं ।

त्यसैले हामी के खानमात्रको लागि पन अरु देशको भर पर्ने । मैले त्यहि भएर यो मुद्दा उठाउने गरेको छु । देशमा खाद्य सुरक्षा कायम गर्नको लागि एउटा राष्ट्रिय खाद्य सुरक्षा मिसन बनाऔं, सरोकारवाला र विज्ञ राखेर ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?


वेरोजगारी समाधानगर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपुर्तीगर्न समेत धानको बिशेष योगदान रहिआएको छ ।

खाद्य अधिकार पनि मानवको लागि एक मौलिक अधिकार नै हो । सरकारले कुनै हालतमा पनि जनतालाई विहान, बेलुका दुइछाक खुवाउनै पर्दछ तर कुनै कामै नगरी फोकटमा खुवाउने रणनीनि पनि हुनु हुंदैन ।

संसारमा देखिएको खाद्यसुरक्षा अर्थात विश्वखाद्य संकट जस्ता समस्यालाई मध्यनजर राखी एक ‘उच्चस्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसन’ बनाउन पर्यो र उक्त मिसनमा समावेसहुने विभिन्न सरोकारवालाहरुमध्ये वर्तमान र अवकासप्राप्त भएका भएपनि, बास्तविक वैज्ञानिक, विज्ञहरु जसले आ–आफ्नो क्षेत्रमा पढेर, परेर, गरेर, क्षमता प्रदर्शन देखाइसकेका हुनुपर्दछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *