विराटनगर । मोरङ लेटाङका ८० वर्षीय एक वृद्ध प्रोस्टेट सम्बन्धि समस्या उत्पन्न भएपछि उपचारको निम्ती विराटनगरस्थित विराट अस्पताल गए । दुई छोरा र नातिनीका साथमा अस्पताल गएका उनको उपचारको क्रममा सल्यक्रिया गरियो । बिरामीको सफल उपचार पछि उनीहरु घर फर्किए ।
शल्यक्रिया पछि उनलाई उच्च ज्वरो लगायतका संक्रमणका लक्षणहरु देखा परेपछि चिकित्सकको सल्लाहमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना टेष्ट गरियो ।
वृद्धको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उपचारको क्रममा संलग्न परिवारका सदस्यहरुको समेत परीक्षण गरियो । परीक्षणको क्रममा उनका ६० तथा ४६ वर्षीय छोरा र ३३ वर्षीया नातिनीमा समेत संक्रमण पुष्टि भयो । वृद्ध बाहेकका सदस्यमा सामान्य लक्षण मात्र देखिएकाले चिकित्सकको सल्लाह अनुसार उनीहरु घरमै आइसोलेसनमा बसेकाछन् ।
वृद्धको अहिले प्रतिष्ठानकै आइसोलेसन वार्डमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
यसैबीच, संक्रमितहरुको सम्पर्कमा आएका परिवारका अन्य ९ सदस्यहरुको स्वाब संकलन गरेर धरानस्थित कोबिड अस्पतालमा टेस्टको निम्ती पठाइएको लेटाङ नगरपालिका वडा नं. २ का अध्यक्ष तेज प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।
नगरमा पहिलोचोटी एउटै परिवारमा ठुलो संख्यामा संक्रमण देखिएपछि कोरोना सामुदायिकस्तरमै फैलिएको हुनसक्ने भन्दै नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक नगरलाई १६ गते सम्म पूर्णरुपले सिल गरेको छ ।
यस अघि मोरङका अन्य स्थानीयतहमा लकडाउन तथा निषेधाज्ञा जारी गरिए पनि लेटाङमा भने आंशिक रुपले बजार तथा आर्थिक गतिविधि सञ्चालन गर्न दिइएको थियो ।
अहिले नगरमा पिसिआर टेष्टको दायरा वृद्ध गर्नको निम्ती कन्टायक्ट ट्रेसिङको काम भैरहेको र थप रिपोर्ट अनुसार आवश्यक कदम चालिने नगरका स्वास्थ्य शाखा प्रमुख महेद्र चौधरीले बताउनुभयो ।
उहाँले विश्व स्वास्थ्य संगठन तथा सरकारले जारी गरेको निर्देशिकालाई पालना गर्न र सचेत रहन नगरबासीलाई आग्रह गर्नुभयो ।

तस्विर : वानओवान नेपाल






