काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्। ई-सेवाले ग्रामीण भेकमा रहेका लघुउद्यमीलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवित्त कम्पनीको भुक्तानीलाई ई-सेवामा आबद्ध गर्दै लगेको हो।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई-सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले हस्ताक्षर गरे।
ई-सेवा खाता भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न
सक्नेछन्। यस्तै ई-सेवा एकाउन्ट नभएका सदस्यले नजिकको ई-सेवा जोन, पोइन्ट तथा ई-सेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन्।
योसँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अहिलेको विषम परिस्थितिमा भीडभाडमा जान नपर्ने कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनीकरण हुने छन्। सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन।





