काठमाडौं : मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन्। ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत बताए ।
“केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,” पहाडीले रिपोर्टर्स क्लब नेपालमा भने, “संसद बिघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन् । विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले।
सर्वोच्च अदालतले यो विघटनको फैसलालाई मान्यता दियो भने अन्यले पनि सोही अनुसारको परम्परा पछ्याउने औल्याए।
पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको कटाक्ष थियो। पार्टीको किचलोका कारण संसद बिघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना समेत गरे। “संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउनासाथ उनले संसद बिघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,” पहाडीले अगाडि भने, “सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद बिघटन गरेका छन्, एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए, उनी मात्रै होइन माधब नेपाल र प्रचण्ड पनि यसका दोषी हुन् ।”






