Home / Politics / प्रधानमन्त्री भन्छन् : पार्टीभित्र देखिएको बहस र विवाद आन्तरिक हुन्

प्रधानमन्त्री भन्छन् : पार्टीभित्र देखिएको बहस र विवाद आन्तरिक हुन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको गतिरोध आन्तरिक भएको बताएका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले नेकपामा अहिले उठेका विषय नियमित प्रक्रिया भएकाले पार्टीले सुल्झाउने बताएका छन् ।

“अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो,” उनले सम्बोधनमा भने, “महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् ।”

यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै भएको उनको ठहर  छ ।

“पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ,” उनले थप  भनेका छन् ।

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्ने औंल्याएका छन् ।

उनले भनेका छन्, “म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *