Home / Nepal / News / कर्णाली प्रदेश आइपुग्यो कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’

कर्णाली प्रदेश आइपुग्यो कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’

कर्णाली : भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ।

संघीय सरकारले नेपालगन्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो। स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि) देखि खोप लगाउन सुरु गर्ने तयारी थालेको छ।

निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताए। उनका अनुसार आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगन्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *