काठमाडौं । काठमाडौं उपत्यका भित्रिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ व्यवस्था गरेको छ ।
जेठ २८ गतेको क्याबिनेट तथा जेठ ३० गतेको गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं उपत्यकाबाट बाहिर जाने र काठमाडौं उपत्यका भित्रिने सवारी साधनको सवारी पासको लागि विशेष व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिसपत्रसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्नुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यसैगरी काठमाडौं भित्रिनका लागि काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि हुने कागजातसमेत विचार सवारी पास जारी गर्न सहमति प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।







