Home / Nepal / काठमाडौंको ढलमा कोरोना भाइरस भेटिनुको अर्थ के हो ?

काठमाडौंको ढलमा कोरोना भाइरस भेटिनुको अर्थ के हो ?

काठमाडौं । काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड-१९) भेटिएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स –२’ प्रारम्भिक अध्ययनले काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस भेटिएको देखाएको हो  ।

सीएमडीएन नेपालका मुख्य अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यले काठमाडौं उपत्यकाको चार स्थानका ढलमध्ये दुई स्थानका नमुनामा कोरोनाभाइरस देखिएको जानकारी दिए ।

 उनले भने “उपत्यकाको मुख्य चार स्थानका ढलको नमुना लिएका थियौं, दुई स्थानको  ढलमा कोरोना सार्स– २ देखियो, जसले कोरोनाभाइरस मानिसमा देखिने गर्छ ।”

काठमाडौंका कुन–कुन स्थानको नमुना लिएको भनेर अहिले भन्न नमिल्ने उनले बताए । उनले भने “स्थानको कुरा गम्भीर भएकाले सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ ।”

दुई वर्षदेखि ढलको नमुना लिएर टाइफाईडको अध्ययन गर्दै आएको र कोरोनाको मात्र अध्ययन सुरु गरिएको दुईमहिना भएको उनले जानकारी दिए । 

उनका अनुसार यो नतिजाले काठमाडौं उपत्यकाभित्र समुदायमा संक्रमण फैलिएको देखाएको छ ।

  हटस्पट पत्ता लगाउन वडा वडा, टोल टोलको ढलमा अध्ययन अनुसन्धान गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । 

वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित ढलमा कोरोना देखिनुले धेरै जनामा भाइरस छ भन्ने संकेत गरेको बताउँछन् । 

उनले भने, “कोरोनाभाइरसको संक्रमण छैनन् भनेता पनि भित्र भित्र रहेको यस अध्ययनले प्रमाणित गरेको छ । ”

सरकारले कोरोना परीक्षणको पीसीआरको दायरा बढाउनुपर्ने देखिएको समेत उनले जानकारी दिए । उनले भने, “यो अनुसन्धानबाट पनि लक्षणविहीन नै कोरोना संक्रमित बढिरहेको देखियो ।

तर जोखिम समूहमा रहेकालाई जोगाउन पनि परीक्षणको दायरा बढाउनुपर्ने देखिएको छ ।” 

अध्ययनको निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत बुझाउने उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *