Home / Nepal / News / अमेरिकी उपराष्ट्रपतिमा कमलाको उम्मेदवारीले ल्यायो नया आशा र हौसला

अमेरिकी उपराष्ट्रपतिमा कमलाको उम्मेदवारीले ल्यायो नया आशा र हौसला

एजेन्सी । यतिबेला अमेरिकाको उपराष्ट्रपतिका उम्मेदवारमा क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस रहेकी छन् जो यस पदका लागि चुनिने अमेरिकी इतिहासकै पहिलो एसियाली मूलकी अश्वेत महिला हुन् ।  यसैको सात दिनपछि क्यानडामा पनि पहिलो महिला अर्थमन्त्रीका रुपमा क्रिस्टिया फ्रिल्यान्डको नाम घोषणा गरिएको छ । 
राजनीतिक परिवेशमा देखा परिरहेका यी परिवर्तनले दुनियाँभरका युवा महिलाहरुमा अहिले नयाँ आशा जगाएको र हौसला प्रदान गरेको बताइएको छ । 

समाज परिवर्तन हुन वास्तवमै लामो समय लाग्ने रहेछ भन्ने पनि यसले स्पष्ट पारिदिएको छ ।  किनकि विश्व राजनीतिको इतिहासमा निर्वाचित राष्ट्रप्रमुखहरु मध्ये केबल १६ जना मात्र महिला रहेका छन् जुन १० प्रतिशत पनि हुँदैन ।  क्यानडा र अमेरिकाजस्ता विकसित देशमासमेत अधिक उच्च राजनीतिक पदमा महिलाहरु निर्वाचित भएका छैनन् । 

तर राजनीतिमा मात्र नभएर कर्पोरेटको बोर्डमा पनि विश्वव्यापी रुपमा अध्ययन गर्दा महिला प्रधान कार्यकारी भन्दा पुरुष सीईओको सङ्ख्या अत्यन्तै धेरै रहेको पाइन्छ ।  ह्यारिस र क्रिस्टिया दुवैले विश्व संकटका बेलामा नै यस किसिमका ऐतिहासिक पद ग्रहण गर्ने अवसर पाएकाबारे पनि अहिले धेरै प्रश्न उठिरहेको छ । 

जसको जवाफमा विज्ञहरुले भनेका छन् कि कतिपय ठुल्ठुला सामाजिक समस्याका समाधान गर्नमा महिलाहरु पुरुषभन्दा केही अगाडि हुने गरेका छन् । यसका थुप्रै उदाहरण कोभिड–१९ महामारीले पनि प्रस्तुत गरिसकेको छ ।  जस्तै कोरोना भाइरस सम्बन्धी अमेरिकी प्रशासन र न्युजिल्यान्ड या फिनल्यान्ड, आइसल्यान्ड बीचको प्रतिक्रियामा कति धेरै भिन्नता देख्न सकिन्छ । 

अमेरिकामा मृतक र संक्रमकको सङ्ख्या विश्वकै उच्च पुगिसकेको छ ।  स्वास्थ्यविद्हरुले बिरामीको सङ्ख्या ६० लाख नजिक पुगिसकेको भनि चेतावनी दिइरहँदा पनि त्यहाँ पछिल्लो समय विभिन्न आन्दोलन र हिंसात्मक गतिविधि रोकिएका छैनन् ।  त्यसैले भावनात्मक गुण भएका नेताले पार्टी वा राजनीति भन्दा बाहिरी आवाज पनि राम्ररी सुन्न सक्ने हुँदा जनताको हितमा केही बढी योगदान पुर्याउन सक्ने यसअघि युनिभर्सिटी अफ एडिनबर्ग मेडिकल स्कुलकी प्रमुख देवी स्रिधरले आफ्नो रिसर्च जर्नलमा उल्लेख गरेकी छन् । 

यसकारण नै महिला राष्ट्र प्रमुखहरुले तुलनात्मक रुपमा कोभिड विरुद्ध सफलता हासिल गर्न सकेको उनी बताउँछिन् ।  यतिबेला कोभिडले कम क्षति पुर्याउने देशमा– न्युजिल्यान्ड– ज्याकिन्डा एर्डन, जर्मनी– एन्जेला मेर्कल, फिनल्यान्ड– सना मरिन र ताइवान–राष्ट्रपति साइ इङवेन रहेका छन् ।  महिला प्रमुख हुनुले वास्तवमै सो मुलुकको राजनीतिक व्यवस्था र मूल्य मान्यतालाई बढी समावेशी बनाउने देवीको भनाइ छ । 

किनकि विविध पृष्ठभूमि र अरु भन्दा फरक अनुभव भएका प्रतिनिधिले नै सबै विषयमा प्रभावकारी सोच र निर्णय प्रस्तुत गर्न सक्छन् । 

जस्तै कि जर्मनीकी एन्जेलाले कोरोना भाइरस विरुद्धको नीति अपनाउनु अघि विश्वभरका विभिन्न श्रोतहरुबाट जानकारी संकलन गरि बाहिरका विज्ञहरुसँग पनि सल्लाहसुझाव लिएर दक्षिण कोरियाको सफल कोभिड नियन्त्रण कार्यक्रमको मोडलबाट प्रमाणहरु संकलन गर्न लगाएकी थिइन् । 
जुन तरिका बेलायत, स्वीडेन लगायत अरु धेरै युरोपेली मुलुकहरुले अपनाएनन् ।  

यसरी ह्यारिसले पनि अहिले पीढीगत परिवर्तन, ऊर्जा र उत्साहको झल्को दिइरहेकी छन् जसले प्रगतिशील युवा, सबै जाति र वर्गका मानिस विशेषगरी, महिलाहरुलाई प्रेरित गर्न सक्छ ।  उनको राजनीतिक सहभागीताले अमेरिकालाई अस्थिर वातावरणबाट बाहिर निकाल्न सक्ने आशा पनि गरिएको छ । 

त्यस्तै भ्रष्टाचार काण्डपछि राजीनामा दिएका क्यान्डाका पूर्व अर्थमन्त्री बील मोन्र्युको स्थान लिन लागेकी क्रिस्टिया पनि अधिक अनुभवी, प्रतिभाशाली र नेतृत्व क्षमता बोकेकी व्यक्तित्व हुन् जसलाई भविष्यमा प्रधानमन्त्रीका रुपमा पनि देख्न सकिने सम्भावना रहेको बताइएको छ ।   त्यसैले क्यानडा होस् या अमेरिका, न्युजिल्यान्ड वा फिन्ल्यान्ड अबका पीढीले यी नयाँ राजनीतिक परिवर्तनबाट यही आशा राख्नेछन् कि विश्वले आफ्नो स्वार्थकालागि मात्र शक्ति नचाहेर समाजलाई सुधार र समानतातर्फ लैजाने प्रतिनिधिका लागि पनि ढोका खुलाउनेछ ।  इन्डिपेन्डेन्टबाट 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *