Home / Nepal / कसरी फैलियो इटालीमा महामारी ?

कसरी फैलियो इटालीमा महामारी ?

काठमाडौं, ४ चैत । कोरोना भाइरस कोभिड–१९ बाट अहिले सबैभन्दा प्रभावित मुलुकमध्ये एक हो इटाली । इटलीमा अहिलेसम्म झण्डै २८ हजार संक्रमित भेटिएका छन् भने २ हजार १५८ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुने दर पनि इटालीमा उच्च छ । यो भाइरस फैलिने क्रम पनि इटालीमा तीव्र छ । पछिल्लो एक सातामा औसत दैनिक २ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । मर्नेको संख्या पनि उल्लेख्य मात्रामा बढिरहेको छ ।

एक साताअघि सम्म इटालीमा यो भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६३७ थियो । तर एक सातामा मर्नेको संख्या पनि ३ गुणा नाघिसकेको छ । संक्रमितको संख्या पनि एक साताअघि १० हजार थियो । यो सातामा मात्र नयाँ संक्रमितको संख्या १७ हजारले बढिसकेको छ ।

कसरी फैलियो महामारी ?

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण इटलीमा जनवरी २९ मा पहिलोपटक देखिएको थियो । त्यसबेला दुई चिनियाँ पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

इटालीका नियामकले उनीहरुलाई तत्कालै क्वारेन्टाइनमा राख्यो । तर कोरोनाको थप संक्रमण देखिन थाल्यो । सरकारले केही प्रभावित क्षेत्रलाई रेड जोन घोषणा गर्दै मानिसहरुलाई सचेत गरायो ।

तर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्दै गयो । नयाँ संक्रमितको संख्या बढेसँगै एक चौथाइ मुलुकलाई क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो । यो निर्णय गर्ने तयारी भइरहेको सूचना चुहिएपछि रेड जोनमा रहेका धेरै मानिसहरु भाइरस नफैलिएको आ–आफ्नो घर फर्किए । त्यसपछि ह्वात्तै इटालीमा बिरामीको संख्या बढ्यो ।

इटली सरकारले पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको छ । तर यो निर्णय गर्नु अगाडि नै महामारी मुलुकभर फैलिसकेको थियो । त्यसैले चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक बन्यो । इटलीमा पूरै स्वास्थ्य आपतकालको अवस्थामा छ ।

अस्पतालमा बिरामीको संख्या बढेको छ । उनीहरुलाई राख्ने अस्पतालको मात्र होइन, उपचार गर्ने डाक्टर र नर्सको पनि अभाव देखिएको छ । चाहेर पनि सबै बिरामीलाई डक्टरले ध्यान दिन सकेका छैनन् । बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्ने बाध्यता इटालीमा देखिएको छ । अहिले इटालीमा विद्यालय, रेष्टुरेन्ट, सपिङ सेन्टर सबै बन्द छन् ।

बाहिर हिँड्दा कता जान लागेको हो भन्ने सूचना लिएर हिँड्नुपर्छ । अन्यथा क्वारेन्टाइन उलंघन गरेको अभियोगमा कानुनअनुसार कारबाही हुन्छ । यसरी पूरै मुलुक लकडाउनमा राख्दा पनि नयाँ संक्रमितको संख्या भने घटेको छैन र दिनानुदिन मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ ।

आवश्यक सजगताको अभाव इटालीमा कोभिड–१९ को भाइरस अहिलेको अवस्थामा आइपुग्नुको एक कारण आवश्यक मात्रामा सजगता अपनाउन नसक्नु हो । चीनमा संक्रमण देखिएसँगै इटालीले बाहिरबाट आउने पर्यटकहरुमाथि निगरानी त बढाइरहेको थियो ।

तर कोरोना संक्रमण भएका मानिसमा पनि लक्षण नदेखिनसक्छ भन्ने तथ्यलाई वेवास्ता गर्‍यो । वैज्ञानिकहरुका अनुसार इटालीमा यो भाइरस कम्तीमा पनि जनवरीको मध्यतिर नै प्रवेश गरिसकेको थियो । तर उनीहरुमा कुनै पनि संकेत देखिएन ।

किनकी यो भाइरस लाग्दा भाइरसको कुनै लक्षण देखिँदैन वा सामान्य लक्षण मात्र देखिन्छ, जसबाट यो भाइरस लागेको थाहा पाउन सकिँदैन । त्यस्तै प्रकारका बिरामी मुलुकमा भाइरसको संक्रमित भेटिनुभन्दा पहिला नै इटालीमा प्रवेश गरे ।

त्यसपछि उनीहरुको माध्यमबाट बिस्तारै यो संक्रमण मुलुकभर फलिँदै गयो । त्यसपछि यो भाइरस नियन्त्रणको लागि समग्र मुलुकलाई नै क्वारेन्टाइनमा राख्ने निर्णय गर्नुभन्दा पहिला नै रेड जोनमा रहेका सयौं मानिस संक्रमण नदेखिएको क्षेत्रमा रहेको घरमा फर्किए ।

यसबाट समग्र इटालीमा भाइरस फैलियो, जसको परिणाम अहिले देखिइरहेको छ । त्यसका साथै इटालीका मानिसहरुले पनि सामान्य लक्षण देखिँदा यो रोगको परीक्षण गराएनन् । यसले पनि भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *