काठमाडौं- पूर्वाधार विकास (नेपाल इन्फ्रास्टक्चर) बैंकले यही महिनामै धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) जारी गर्नेगरी प्रक्रिया अघि बढाएको छ।
नेपाल धितोपत्र बोर्डबाट पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको बैंकले यही महिनामै आईपीओ निष्कासन गर्नेगरी तयारी गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) भुपेन्द्र पाण्डेले बताए।
बोर्डबाट स्वीकृत पाएपछि बैंकले आईपीओ निष्कासनका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत स्वीकृत लिइसकेको उनले बताए। बैंकले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो।
निष्कासन स्वीकृत पाएको मध्ये ५ प्रतिशत अथात् ४० लाख कित्ता सामूहिक लगानीको र ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए।






