Home / Society / सिमानालाई खोलेर पुरानै अवस्थामा पुर्‍याए भयावह रुप देखिन सक्ने चिन्ता

सिमानालाई खोलेर पुरानै अवस्थामा पुर्‍याए भयावह रुप देखिन सक्ने चिन्ता

नेपालगञ्ज । कोभिड १९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सीमानालाई अझै केहि महिना बन्द नै राख्न बांकेका नागरिक अगुवाहरुले दबाव दिएका छन् ।


पछिल्लो समयमा आएर नेपालमा कोरोना संक्रमित घट्दै गएको भए पनि भारतमा भने अत्याधिक तिब्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरुले बताएका छन् ।


नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतमा दैनिक ४० हजार जनामा संक्रमण भेटिरहेकोले आगामी छमहिनासम्म कुनै पनि हालतमा सिमाना खोल्न नहुने बताउनुभयो ।


उहाँले नेपाल भारत सिमानालाई खोलेर पुरानै अवस्थामा पु¥याउने हो भने सीमावर्ती जिल्लाहरुमा कोभिड–१९ को भयावह रुप देखिन सक्ने तर्क गर्नुभयो ।


यहाँस्थित सिमाना पारीको भारतीय जिल्ला बहराईचमा हाल आएर तिब्र गतिमा कोरोना फैलिने क्रम जारी रहेकाले हतार गरेर सिमाना खोलिने हो भने त्यसको गम्भीर परिणाम हुने स्थानीय अगुवा विवेक श्रेष्ठले बताउनुभयो ।

उहाँले सीमानामा अझै पनि जन्तीको आवागमन भैरहेको तथा विना कुनै आवश्यक काम पनि मानिसहरु आउने जाने भैरहेकोले सो पनि रोक्नु पर्ने माग गर्नुभयो ।


नेपालगञ्जका अर्का अगुवा समाजसेवी हेमन्तराज काफ्लेले भारतबाट आउनेहरुलाई मात्र व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर मात्र आउन दिनु पर्ने माग गर्दै सीमानामा नियन्त्रण नगरिए अवस्था धेरै चिन्ताजनक हुनसक्ने बताउनुभयो ।


उहाँले भारतबाट आउनेले कोरोना परिक्षण गराएको रिपोर्ट लिएर मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै अझै केही महिना सीमाना बन्द राखिनु नेपालको हितमा हुने बताउनुभयो ।


अर्का स्थानीय दिपक पौडेले आन्तरिक रुपमा बन्दाबन्दीलाई समाप्त गरिएपनि नेपाल भारत सीमाना अझै ६ महिना भन्दा बढी खोल्न नहुने तर्क गर्दै देश भित्रै पनि सामाजिक दुरी र मास्कमा कडाई आवश्यक रहेको बताउनुभयो ।


बन्दाबन्दीलाई समाप्त पारिएझैं नेपाल भारत सिमाना पनि खुकुलो पारिने हो भने त्यसपछि आउने परिणामको जिम्मेवारी पनि सरकारलेनै लिनुपर्ने अधिकांश स्थानीय बासिन्दाको भनाइ छ ।

यसैबीच बुधबार पनि बाँकेमा नेपालगञ्ज १८ का एकजना महिला र तथा राप्तीसोनारीका दुईजना महिला पुरुष गरेर तीनजना सङ्क्रमित थपिएका छन् । यीसँगै अब बाँकेमा आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *