विराटनगर : मोरङ जिल्ला र सुनसरी जिल्लाको बिचमा पर्ने बुढीखोलास्थित सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ। यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट, कंक्रिट ब्लक र ढुंगासहितको तारजाली लगाउनुपर्ने आवश्यकता देखिएको छ।
वर्सेनि वर्षायाममा खोलामा आउने बाढीका कारण खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्र गतिमा कटान भइरहेको छ र कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ। बुढीखोला नहरको संरचना १६५ मिटर लम्बाइको एक्वाडक्ट कम ब्रिज हो। खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम बढेको छ।
यदि, यो संरचना नदी कटानका कारणले भत्कियो भने मोरङमा रहेका नौवटै शाखा नहरहरु छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुरमा आश्रित कृषक सिँचाइबाट वञ्चित हुने अवस्था सिर्जना हुन्छ।
अयोजनाका डिभिजनल इन्जिनियर रमेशलाल कर्णका अनुसार बुढीखोलाको संरचनालाई जोगाउन तत्काल विभागबाट विनियोजित बजेट ३४ लाख रुपैयाँको बोलपत्र आह्वान भइसकेको छ भने यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ६२ लाख रुपैयाँ बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा छ। उनले कुनै कारणले संरचना भत्किए मोरङमा सिञ्चित हुने २८ हजार अर्थात ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने बताए।
विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बुढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताए। हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बुढीखोलाको संरचना बचाउनका लागि आवाज उठाइरहे पनि विभागले ध्यान नदिएकामा दुःख व्यक्त गरे।
बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बुढीखोला गहिरिँदै गएको, नहरको संरचनाले पनि ५० वर्ष पार गरिसकेको उल्लेख गर्दै यसलाई बचाउनुको विकल्प नभएको बताए।






