Home / Nepal / News / सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौं । नेपाली बजारमा तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ यतिखेर सस्तिएको छ । दसैँको मुखमा रेकर्ड राखेर फर्किएको सुन विवाहको मुख्य सिजन (मंसिर) मा सस्तो बन्न थालेको हो ।

पछिल्लो केही दिनको तीव्र गिरावटले सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा झरिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा भारी गिरावट आएसँगै नेपाली बजारमा मूल्य घटेको हो ।

आज एकैदिन तोलामा एक हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन १८ सय रुपैयाँले घटेको थियो । सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद-बिक्री भएको छापावाल सुनको भाउ बुधबार ९१ हजार ५ सय रुपैयाँमा झरेको छ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९१ हजार रुपैयाँमा आइपुगेको छ । यस्तै चाँदीको भाउ पनि हिजो ३० रुपैयाँले सस्तिएकामा आज अझै ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९ रोग) को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लागेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको अनुमान नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यको छ।

उनले भने, “खोप विकासको चरणमा सफलता हासिल भएको समाचारले लगानीकर्ता अन्य क्षेत्रमा लगानी गर्न हौसिएका छन् । सेयर बजारमा उछाल आउनु व्यावसायिक क्षेत्र सबल हुने संकेत देखिएको उनको भनाइ छ।

उनी भन्छन्, “एकातिर कोभिडको प्रभाव र अर्कातिर यो महिनामा लगन धेरै नभएर पनि होला, गत वर्षको जति किनबेच छैन ।” मंसिर लाग्दा कारोबारको उत्साह जति हुन्थ्यो त्यसको आधामात्र रहेको शाक्यको दाबी छ ।

सुनको मूल्य घट्न थाले पनि कोरोना प्रभावका अवधीमा बढेको सुनको मूल्य पुरानै अवस्थामा फर्किने अनुमान भने गर्न नसकिने शाक्य बताउँछन् । गत साउन अन्तिममा नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *