Home / Society / चितवनका नदीमा पाँच जनाको शव फेला पर्यो

चितवनका नदीमा पाँच जनाको शव फेला पर्यो

चितवन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ ।

ती मध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिए । ती शव सडेको अवस्थामा फेला परेका हुन् । 

त्यस्तै भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव बुधबार फेला परेको छ । मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए ।

त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए ।

उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो । भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ ।

बग्दै गरेको शव देखिएपछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए । एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन । 

विभिन्न ठाउँमा बगाएको वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको मुजुल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *