जलेश्वर : महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी लोपोन्मुख वन्यजन्तु नीलगाई फेला परेका छन्।
केही दिनदेखि एक्कासि विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए। दर्जनौँको संख्यामा रहेका नीलगाई र बाछो वन क्षेत्रको खर र झाडीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन्।
स्थानीयवासीले वन क्षेत्रमा नीलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन्।गर्मीयामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र (जंगल)मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन संकटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ। रासस






