Home / Nepal / News / विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा, कर्मचारीको अभाव

विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा, कर्मचारीको अभाव

काठमाडौँ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । 

 सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९, राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति शवदाह गृहमा दाहसंस्कार गरिएको थियो ।  विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो ।  यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्‍न भएपछि सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । गृह चलाउन तताउन सुरु गरिसकिएको पनि उनले बताए ।

शवदाह गृहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्त भएको भए ३६ घण्टापछि सञ्चालनमा ल्याउन सकिने थियो । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ ।  

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ ।

जम्मा ६ कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् । कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पीसीआर परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ ।

सेनाले सुरक्षित रुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ । 

किरियापुत्री घर सञ्चालनमा
सरसफाइका लागि एक साता बन्द रहेको पशुपतिको किरियापुत्री घर पनि आजैदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताए ।

१३ दिनसम्म किरियापुत्री बसिसकेपछि सफाइका लागि किरियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । किरियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको सङ्क्रमण नफैलियोस् भनी सजगता अपनाइएको  कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा काजकिरिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ । पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहीँको किरियापुत्री घर पर्ने गरेको छ । –रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *