Home / Nepal / डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले डल्फिन गणना गर्न सुरु

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले डल्फिन गणना गर्न सुरु

भजनी : शुक्रबारदेखि कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले डल्फिन गणना सुरु गरेको हो ।

दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए । टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ।

सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम,जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुङ्गानाले बताएका छन् ।

यसअघि पाँच वर्ष अघि एक पटक डल्फिन गणना गरिएको थियो । विसं २०७३ मा ६५ वटाको गणना गरिएकोमा २०७५ सालमा ५५ वटा डल्फिन देखा परेका थिए । अध्यक्ष ढुङ्गानाका अनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परेका छन् ।

पछिल्लो तथ्याङ्क हेर्दा डल्फिनको सङ्ख्या बर्सेनि घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुङ्गानाको भनाइ छ ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा, जैविक विविधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गइरहेकाले पनि डल्फिन गणना आवश्यक भएको उनले बताएका छन्।

बर्सातको चार महिना असार, साउन, भदौ र असोज महिना पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन् भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *