काठमाडौँ । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् ।
आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
‘उपत्यका नगरपालिका फोरमले दिएका सुझावलाई पूर्णरुपमा पालना गर्न गृहमन्त्रीज्युसँग आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘लाखौँको संख्यामा रहेका उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत–जावतले उपत्यका अशान्त बनिरहेको छ ।
त्यसैले आज गृहमन्त्रीज्युलाई उपत्यकाका नाकामा कडाई गर्ने भन्दा पनि प्रस्थान विन्दूबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्र्ने वातावरण निर्माण गर्न आग्रह गरेका छौँ ।’
आवत–जावतलाई कडाई गर्दै प्रस्थान विन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनु पर्ने व्यक्ति कुन पालिकामा आउने हो त्यहाँको पालिका र जिल्ला प्रशासनलाई समेत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरेको जानकारी दिनुभयो ।
‘मन्त्रालयले पास दिने अनि उपत्यका भित्र ल्याएर छाडिदिने त्यसपछि हाम्रा वडाध्यक्ष–सदस्यहरु चाँहि उनीहरुको पछि–पछि लाग्दै उनीहरुलाई खोज्दै हिड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको छ ।






