Home / Society / महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा ढिलाइ

महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा ढिलाइ

महोत्तरी : महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा ढिलाइ देखिएको छ। फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन्।

पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ नियन्त्रण अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, ‘‘पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य थियो। तर, ३८ जनाले मात्र यो सेवा लिए,’’ ‘‘कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएका हुन्।’’ यद्यपि, यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ।

खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि सुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ। एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ। ‘‘अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित हामी सबैले देख्ने गरी खोप लगाएका छौँ,’’ जनस्वास्थ्य निरीक्षक झाले भने, ‘‘अब भ्रम हट्दै जान्छ र सेवा लिनेको संख्या बढ्छ।’’

पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा. प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी (अनमी) कला चौधरीबाट खोप लिएर यो सेवा प्रारम्भ गरेका थिए। जिल्लामा कोभिसिल्ड नामको यो खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई दिइने गरी प्राथमिकता निर्धारण गरिएको छ।

जलेश्वर अस्पतालकक्षमै सञ्चालन गरिएको यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा पुर्‍याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *