काठमाडौं । बिमा समिति र बिमक संघको वैठकले भोलिदेखि कोरोना बिमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको परिवेशमा बिमा कम्पनीहरुले थेग्नै नसक्ने दायित्व सिर्जना भएपछि कोरोना बिमा तत्कालका लागि स्थगित गरिएको हो ।
व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बिमा समितिले सहमति दिएको हो ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले कोरोना बिमा भोलिदेखि नै नहुने गरी स्थगन गरिएको जानकारी दिए ।
उनले भने, “यो बिमा नीति खारेज भएको होइन । बिमा कम्पनीहरुले पनि दायित्व बढेको भन्दै बिमाको पुलमा सहभागी नहुने भनेपछि यसलाई तत्कालका लागि स्थगन गरिएको हो ।”
बिना अध्ययनका लागि ल्याइएको यो नीतिले गर्दा बिमा कम्पनीहरुलाई करिब ३ अर्ब रुपैयाँको दायित्व सिर्जना भएको थियो । हालसम्म करिब ३ लाखले कोरोना बिमा गरेका छन् । हालै सरकारले पनि कोरोना बिमा गराउन चाहनेलाई सरकारले आधा शूल्क (प्रिमियम) बेहोर्दिने व्यवस्था बजेटमार्फत् गरेको यियो ।
सरकारले नै प्राथिमकतामा राखेपछि यो नीतिको मोडालिटी परिमार्जन गर्ने कि खारेज गर्ने भन्ने द्विविधा सिर्जना भएको छ ।
कोरोना बिमाको दायित्व बिमा कम्पनीहरुले नै व्यहोर्ने गरी सुरु गरिएको थियो । जसबाट दुईवटा कम्पनी आफू थप दायित्व बहन गर्न नसक्ने हुँदा के गर्न सकिन्छ भन्दै विकल्पमा छलफल हुनुपर्ने बताएका थिए ।






