Home / Politics / भारतको सीमा रक्षा गर्ने क्रममा फेरि नेपाली गोर्खा सैनिकको मृत्यु

भारतको सीमा रक्षा गर्ने क्रममा फेरि नेपाली गोर्खा सैनिकको मृत्यु

नयाँदिल्ली । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोलमा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् ।

जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।

भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि गरे ।

प्रवक्ता आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो ।

यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *