Home / Politics / राजसंस्थाको अभावले देशमा गृहयुद्धको खतरा बढ्दै (लेख)

राजसंस्थाको अभावले देशमा गृहयुद्धको खतरा बढ्दै (लेख)

–दीर्घराज प्रसाई

नेपालको भौगोलिक बनोट यस्तो छ कि राजसंस्थाको अभावमा गृहयुद्धको भार बोक्नु पर्छ ! देशै डुब्ने स्थिति आएकाले पार्टीभित्र र बाहिरका सम्पूर्ण राष्ट्रवादीहरु देश बचाउन उठ्नुपर्छ!

नेपालको राजसंस्था एक सशक्त राष्ट्रवादी र चीन र भारतको बीचमा समन्वयकारी संस्था हो । यस परिस्थितिमा पार्टीका नेताहरुले जनपक्षीय राजसंस्थाको अवधारण बनाएर राजासँग सहकार्य गर्ने समर्पण नदेखाएमा हामी कोही पनि सुरक्षित हुनसक्ने छैनौं । हामी संसदीय व्यवस्थाको सुदृढीकरण गरेर अगाडि बढ्न चाहन्छौं । तर पार्टीभित्रका माथिल्ला नेताहरुले देशलाई धोका दिएकाले देशै डुब्ने स्थिति आएकाले पार्टीभित्र र बाहिरका सम्पूर्ण राष्ट्रवादीहरु देश बचाउन उठ्नुपर्छ ।


नेपालमा राजा नहुँदाको अवस्थामा चीन पश्चिमाहरुको षडयन्त्रबाट सुरक्षित नहुने ठान्छ । उसले यहाँ विश्वमा वदनाम अमेरिका र भारतका गुप्तचर संस्था ‘सीआए’ र ‘रअ’ को विरुद्ध जाग्न सक्छ ।

चीनले पश्चिमा साम्राज्यवादी शक्तिलाई लखेट्नु भनेको नेपाल प्रवेश नै हुनसक्छ । चीन नेपालमा प्रवेश गर्छ भने भारतले आफूलाई खतरा ठान्छ । यस परिस्थितिमा के नेपाल बाँच्न सक्छ ?

भारतको प्रशासनिक संयन्त्र, सीआईए र युरोपका इसाई राष्ट्रहरुले चाहेको पनि यही हो । तर यसैबाट तेस्रो विश्वयुद्धको प्रारम्भ हुनसक्छ । नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाराबाट चीन टुक्रयाउने र नेपाललाई इसाईकरण गर्ने सीआईए र युरोपका इसाई राष्ट्रहरुको रणनीति हो !

देशका स्थापित मूल्य र मान्यता, हिन्दुअधिराज्य र एकताको प्रतीकको रुपमा स्थापित राजसंस्थाको तेजोवध गरेर देशलाई लथालिङ्ग बनाएर विदेशीहरुको रणभूमि बनाउन लागेको बेलादेखि नेपालको अवस्था अन्धकार छ । यिनीहरु कसैको कुरा सुन्दैनन् । विदेशीले धाप दिएकाले यिनीहरु घामले तातेका बालुवा जस्ता छन् ।

संसदीय परम्परा कायम राख्नमा हामीहरु जुुनसुकै राजनीतिक विचारमा संलग्न भए तापनि हाम्रा पहिचान कायम राखेर विश्वका सामू नेपालीहरुको शिर सगरमाथा जस्तै ठाडो राख्ने कुरामा हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रित हुनपर्नेमा विदेशीहरुको कमारा हुन लागेको देखेर धिक्कार लाग्न थालेको छ ।

अमेरिकाको सीआईएले नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाराबाट चीन टुक्रयाउने र युरोपका इसाई राष्ट्रहरु नेपाललाई इसाईकरण गर्ने रणनीतिबाट नेपालको अस्तित्व बाँच्न सक्तैन ।

नेपालमा राजसंस्था र हिन्दुअधिराज्य नमान्ने पनि होलान् तर देश बचाउनका लागि नेपालमा हिन्दुअधिराज्य र राजसंस्था कायम हुनेबित्तिकै सबै समस्याको समाधान हुन्छ ।


नेपालमा राजा नहुँदा दी टाइम्स अफ इन्डियामा ‘नेपाल टुक्रयाएर भारत र चीनले खानुपर्छ’ भन्ने लेख २०६३ जेष्ठमा जग सुरैयाले र २०७२ सालमा एसडीमुनीले त्यही पत्रिकामा ‘नेपाल टुक्रयाएर भारत र चीनले खानुपर्छ ’भन्ने लेख लेखेर नेपालको राष्ट्रियतामाथि आक्रमण गर्ने धृष्टता गरे । भारतका यी दुष्ट लेखकहरु भारतीय गुप्तचर संस्था ‘रअ’ को षडयन्त्रको समर्थनमा भारतीय प्रशासनिक संयन्त्र आवद्ध छन् ।’

प्राकृतिक र सांस्कृतिक हिसाबले नेपाल धनी छ । यसै कारणले यहाँका वैभवहरु लुट्न यहीका केही पार्टीका नेताहरुलाई उचालेर विदेशीहरु लागिपरेका हुन्छन् ।

कुनै पनि अप्ठयारो अवस्थामा पनि राष्ट्रियता बचाउन हामी नेपालीहरु सचेत हुनुपर्नेमा आज हामी सबै नेताहरुको भुलभुलैयामा परेका छौं ।

बितेका १३ बर्षमा, कांग्रेस, एमाले माओवादीले देश र जनतालाई धोका दिने, ब्रम्हलुट मच्चाउने, हत्या, डकैती बाहेक अरु केही गरेनन्!

नेपालमा २०६३ सालदेखि माओवादी, कांग्रेस, एमाले भित्रका देशद्रोहीहरुले सत्ता कब्जा गरेर देशको चीरहरण गरिरहेका छन् । उनीहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा ब्रम्हलुट मच्चाइरहेका छन् ।

सत्ताको भागवण्डाको लागि सत्ता परिवर्तको धाउन्नमा मात्र लागेर देशलाई आफ्नो बपौति ठानेका छन् । देशको संसारका देशहरुमा सत्तामा बसेर यस्तो चर्तिकला कहिकतै सुनिएको थिएन । राणा शासनमा पनि देशलाई यस्तो घीनलाग्दा कुकर्महरु भएका थिएन ।

चार अमर सहीदहरुको कुर्वानी, प्रजापरिषद, नेपाली कांग्रेसले प्रजातन्त्रको लागि योगदान गरेका थिए । तर कांग्रेसले २०६३ सालपछि प्रजातन्त्रको जरो उखेलेर देशको अधोगगि गराउने बाटो लिएकाले कांग्रेसले विश्वसनीयता गुमाएको छ ।

नेपाली काेंसका संस्थापक नेता बीपी कोइरालाका वैचारिक धारहरु पनि बीपी कै भाइ गिरिजाप्रसादले समाप्त गरिदिए ।

उता मनमोहन अधिकारी र मदन भण्डारीहरुले एमालेलाई राष्ट्रवादी धारको कम्युनिष्ट पाटीको रुपमा उभ्याउन खोजेता पनि २०६३ सालपछि एमाले पनि सत्ताको लोभमा भारतले पालन पोषण गरेका माओवादीसँग कांग्रेससाघै मिलेर राष्ट्रघातको बाटो लियो । यहाँबाट प्रारम्भ हुन्छ यो देश ठुबाउने खेलहरु ।

कांग्रेसका गिरिजा प्रसाद र एमालेमा माधव नेपाल माओवादीका समर्थक बनेर भारतले जे जे भन्छन् त्यही गरे । देशलाई यो स्थितिमा पु¥याउने कांग्रेस र एमालेका प्रमुख व्यक्तिहरु गिरिजा र माधव नेपाल हुन् । राष्टघातको कलंक बोकेर गिरिजा मरेर गए पनि नेपाली कांग्रेसका शेरबहादुर देउवा पनि अत्यन्त पदलोलुप, हैसियदबीनाका चरित्रहीन भ्रष्ट व्यक्ति हुन् ।

पद र पैसाको लागि यिनले देशै बेच्न सक्छन् । यस्ता चोट्टाहरुबाट झन देशले सास्ती भोग्नु परिरहेको छ । माओवादी त २०५९ सालदेखि नैं भारतीय गुप्तचरका भरिया बनिसकेको थियो ।

तर कांग्रेस र एमालेले आफ्रना पार्टीका मान्यताहरुलाई समाप्त गर्दै भारतीय गुप्तचरका भरिया नबनेको भए नेपालको यसरी अधोगति हुने थिएन । माओवादी त जन्मकालदेखि देशद्रोही नैं हुन् । यो स्थितिमा माओवादी, कांग्रेस, एमालेको अघिपछि जो जति लागेका छन् ती सब अपराधी हुन् ।

पार्टीहरुभित्र पनि सबै राष्ट्रघाती छैनन् । देशको राष्ट्रियतालाई कमजोर पार्ने निरर्थक बहसहरु उठाएर विदेशीको पासोमा हामी कसैले पनि फस्नु हुन्न । पार्टीहरुले राष्ट्रघातको बाटो लिए भने नेपाली सेनाले टुलुटुलु देश डुब्न लागेको हेरेर बसिरहन हुन्न।

राष्ट्रियताका जगहरु सबै भत्काएर देशभित्र विदेशीहरुको चलखेल बढाए । जवरजस्ती यसरी अधिनायकवादी शैली अपनाएर गणगन्त्र र धर्मनिरपेक्ष लाध्न खोज्ने हो भने त्यसको प्रतिकारमा उत्रने शक्तिलाई कसैले रोक्न सक्तैन । नेपालको भौगोलिक र जातीय बनोट नै यस्तो छ कि प्रगतिशील राजसंस्थाको अभावमा गृहयुद्धको भार बोक्नुपर्ने हुन्छ ।

नेपाललाई कसरी उठ्न नसक्ने गरी धर्मनिरपेक्ष को नाममा नेपाललाई इसाईकरण गरेर हिन्दुस्थलको अस्तित्व नैं समाप्तगर्न लागेका छन् । प्रधानमंत्री ओली पदमा रहने नरहने कुरा अर्कै हो तर अव उनले नेपाल विदेशीले डुबाउन भित्रिएका धर्मनिरपेक्ष र गणतन्त्रको बिरोधमा खडा हुनु पर्छ ।

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी लगायत कैयौं आस्थावान प्रजातन्त्रवादीको आस्थालाई धोका दिएर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटो हिडेकाले कांग्रेस कम्यूनिष्टहरुको चक्रब्यूहमा फसिसकेका छन् ।

प्रधानमंत्री ओली, नेपाली कांग्रेस, एमाले, माओवादी आफ्रनो अस्तित्व बचाउन चहान्छन् भने राजसंस्था तथा हिन्दु अधिराज्यलाई यथावत कायम गर्ने कार्यमा केन्द्रीत भएर देशलाई निकास दिनसक्नु पर्छ ।

त्यसैले नेपालको स्थिरता र विकासको लागि नेपालको राष्ट्रियता, हिन्दुअधिराज्य, संवैधानिक राजसंस्था, हिन्दुअधिराज्य तथा संसदीय प्रजातन्त्रको बीचमा समन्वय र संतुलन कायम गरेर देश बचाउन हामी सबैको समर्पण हुनु पर्दछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *