Home / Politics / नेकपाको बैठक नै बसेको छैन, कसले गरेछ कारबाही ? – नेम्वाङ

नेकपाको बैठक नै बसेको छैन, कसले गरेछ कारबाही ? – नेम्वाङ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफूलाई कारबाही गर्ने कुरा हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्।

नेकपाको अर्को समूह, दाहाल–नेपाल पक्षले नेकपाका नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिँदै पार्टी स्थायी कमिटीबाट ६ महिनालाई निलम्बन गरेको थियो। कारबाहीको मिति गुज्रिएपछि पार्टी हितअनुकूल काम गर्न पनि निर्देश गरेको थियो ।

नेम्वाङले आधिकारिक नेकपाको कुनै बैठक नरहेको र आफूलाई कारबाही गर्न पनि नसक्ने जानकारी दिए। “निर्वाचन आयोगले आधिकारिक भनेको, केपी शर्मा ओली प्रथम अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड द्वितीय अध्यक्ष रहेको नेकपाको कुनै बैठक छैन। बैठक महासचिवले बोलाउने स्पष्ट प्रावधान छ। उहाँले बैठक भनेर खबर पनि गर्नुभएको छैन । कसले कहाँ बसेर के निर्णय गर्‍यो त्यो मैले थाहा पाउने कुरा भएन,” उनले भने ।

पुस ५ गते दाहाल–नेपाल समूहले ओलीलाई पार्टी अध्यक्षबाट अनुशासनको कारबाही गर्ने र अनुमोदनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। पुस ७ गते बसेको तेस्रो केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर माधवकुमार नेपाललाई समान हैसियतको अध्यक्ष चयन गरेको थियो।

त्यसपछि दाहाल–नेपाल समूहले ओलीलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेका थिए। र, पार्टी महासचिवबाट विष्णु पौडेललाई हटाएका थिए। यता ओली समूहले दाहाललाई दिएको कार्यकारी अध्यक्षको अधिकार खोस्दै पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको थियो।

दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले ओलीलाई नेताबाट हटाएर प्रचण्ड नियुक्त गरेको थियो। ओलीले केही दिनअघिमात्रै संसदीय दलको मुख्य सचेतकबाट देव गुरूङलाई हटाएर विशाल भट्टराई नियुक्त गरेका थिए।

आज पुनः दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटीबाट ओलीलाई दलको नेताबाट हटाएको निर्णय अनुमोदन गर्दै स्थायी कमिटीबाट नेम्वाङ, केन्द्रीय सदस्यबाट विशाल भट्टराई, प्रभु साह, कर्ण थापा, महेश बस्नेत, सूर्य थापा, शान्ता चौधरीलाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *